४ महिने कार्यकाल सन्तोषजनक रहेको अर्थमन्त्रीकाे दावी

आर्थिक परिवेश

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयका कर्मचारीद्वारा आइतवार  आयोजित बिदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको समेत दाबी गर्नुभयो ।

उहाँले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उहाँले बताउनुभयो ।

आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँले जिकिर गर्नुभयो ।

बाह्र वर्षअघि पहिलो पटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पुरक बजेट ल्याएको स्मरण गर्दै उहाँले यसपटक संसद्बाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यसपटकको बजेटको स्वामित्व धेरैले लिएको उहाँको भनाइ थियो ।

सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर यो पटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।

“एक वर्ष बसे पनि, चार महिना बसे पनि अर्थमन्त्रीले गर्ने मुख्य काम बजेट ल्याउनु नै हो । जहिले पनि बजेट विवादमा आउने र कसैले स्वामित्व नलिने अवस्था रहँदै आयो ।

मुलुक आर्थिक शिथिलताबाट माथि उठ्दै गर्दा तयार पारिएको बजेटले आशा जगाएको अर्थमन्त्री पुनको भनाइ छ । विगतमा जस्तो यसपटक बजेट महत्वाकांक्षी नरहेकाले कार्यान्वयन हुनेमा शङ्का नरहेको उहाँले उल्लेख गर्नुभयो ।

मुलुकको भू–अवस्थितिअनुसार आर्थिक विकासको अवधारणा र रूपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यसपटक विगतमा जस्तै

कृषि, जलविद्युत, पर्यटन र उत्पादनमूलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको चर्चा मन्त्री पुनले गर्नुभयो ।

दुई छिमेकी मुलुक भारत र चीनको विकसित र सुदृढ अर्थतन्त्रबाट प्रत्यक्ष लाभ लिने गरी बजेटमार्फत योजना अघि सारिएको पुनको दाबी छ ।

अर्थमन्त्री पुनले बजेटमार्फत करका दर हेरफेर गर्दा यसपटक धेरै विवाद नभएको समेत जिकिर गर्नुभयो ।

सरकारले विकासका ढाँचा बनाउँदा केही ठाउँमा विकास गर्ने र त्यसलाई विस्तार गर्ने गरी नीति लिनुपर्ने भन्दै उहाँले बजेटले नयाँ कार्यक्रमका रुपमा पोखरा, बुटवल र नारायणगढ तीन ठूला सहरलाई जोडेर आर्थिक त्रिभुजको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो ।

सरकारले यातायातसहित पूर्वधार निर्माण तथा नीतिगत क्षेत्रमा काम गर्ने र निजी क्षेत्रको सहकार्यमा त्रिभुज कार्यान्वयन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।  अर्थमन्त्री पुनले कर्मचारीतन्त्रको मनोबल खस्किएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

मा प्रकाशित