१४ साउन, काठमाडौँ । मुलुकमा १३ साउनसम्ममा ९२.४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
देशभर धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २ सय २१ हेक्टरमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ ।
प्रदेश अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ १ लाख ७४ हजार ७६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७३ हजार ७ सय ९९ हेक्टर रोपाइँ भएको हो ।
यस्तै कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमध्ये ४० हजार ६ सय २३ अर्थात् ९६.९ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९१.९ प्रतिशत अर्थात् ९६ हजार ५३ हेक्टरमध्ये ८८ हजार २ सय ५२ हेक्टर रोपाइँ भएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६ सय ४३ मध्ये २ लाख ८४ हजार ४ सय ८५ हेक्टर अर्थात् ९१.३ प्रतिशत रोपाइँ भएको छ ।
बागमती प्रदेशमा ९०.८ प्रतिशत अर्थात् १ लाख १२ हजार २ सय २३ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये १ लाख २ हजार हेक्टरमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ ।
धान खेती हुने सबैभन्दा धेरै क्षेत्रफल भएको मधेश प्रदेशमा ९२ प्रतिशत धान रोपाइ सकिएको छ । ३ लाख ८३ हजार १ सय ५० हेक्टर क्षेत्रफलमध्ये ३ लाख ५२ हजार ४ सय ४३ हेक्टरमा रोपाइँ भएको हो ।
त्यस्तै कोसी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये ९०.७ प्रतिशत अर्थात् २ लाख ५० हजार ६ सय २४ हेक्टरमा रोपाइँ भएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार गत वर्षभन्दा यो वर्ष रोपाइँ हुने क्षेत्रफल बढेको छ ।
गत वर्ष १२ साउनसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ७८.१ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।
कृषि प्रवक्ता केसीले गत वर्ष धानको सिजन सुरुवातमै पानी र मलको समस्या थियो ।
त्यसले पनि उत्पादन राम्रो नभएको तर यस बर्ष यो वर्ष समयमा बर्ष भएको रोपाइ भएको क्षेत्रफल बढेको तथा मलको मौज्दात समेत रहेकोले यस बर्ष नेपालमा धान उत्पादन बढ्ने आकलन गर्नु भयो ।
गत आव २०८०/०८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । यो अघिल्लो आव २०७९÷८० भन्दा ४.३३ प्रतिशतले बढी हो । यो वर्ष समयमै भएको वर्षा र रासायनिक मल उपलब्धताले अझै राम्रो उत्पादन हुने मन्त्रालयको दाबी छ ।
कृषि मन्त्रालयका अनुसार गत आव २१ अर्ब रुपैयाँभन्दा धेरैको धान–चामल आयात भएको थियो । उक्त अवधिमा करिब १२ अर्बको धान र करिब ९ अर्बको चामल आयात गरेको थियो ।
त्यो बाहेक करिब १ अर्बको धानको बिउ र १० लाख रुपैयाँको कनिका पनि आयात गरेको कृषि मन्त्रालयले जनाएको छ ।
मा प्रकाशित