बाजुरामा स्याउ उत्पादन बढे पनि ढुवानीकाे समस्याले किसान चिन्तित

आर्थिक परिवेश

२० साउन , बाजुरा । बाजुरा जिल्लामा उत्पादित स्याउ यो बर्ष पनि स्याउ ढुवानी गर्न समस्या हुने भएको छ।

बर्षाको समयमा सधैँजसो अवरुद्ध भइरहने मार्तडी कोल्टी सडक खण्ड यो बर्ष पनि ठाउँ/ठाउँमा पहिरोका कारण एक महिनादेखि अवरुद्ध रहेकाे छ।

बाटो अवरुद्ध हुँदा बारीमा लटरम्म स्याउ फलेर पाक्न थालिसक्दा समेत बाटो नहुँदा ढुवानी गरी बजारसम्म पुर्‍याउन किसानलाई समस्या हुने भएको हाे ।

कि स्याउ पाक्ने समयमा यस बर्ष पनि सडक अवरुद्ध हुँदा ढुवानी रोकिएपछि किसानहरू स्याउ बारीमा नै कुहिने हो की भन्ने ख चिन्तामा छन् ।

बाजुरामा यो बर्ष पनि अत्यधिक मात्रामा स्याउ उत्पादनमा वृद्धि भए पनि पाकेका स्याउ बजारसम्म पुर्‍याउनु किसानका लागि चुनौती बनेको छ।

“वर्षभरि मेहनत गरी लाभ लिने बेला ढुवानीको चिन्ता भयो पिठ्युँमा बोकेर मार्तडी बजारसम्म लिउ भने भारीसँग दुई दिन लाग्छ यति धेरै स्याउ कसरी बोकेर लिन सकिन्छ ? सरकारले स्याउ बजारीकरणका लागि सहयोग गरिदिए हुन्थ्यो।”, बुढिनन्दा नगरपालिका–९ पाण्डुसैनका स्याउ कृषक उज्ज्वल रावतले भन्नुभयो ।

“स्याउ बेचेरै जीविकोपार्जन गरौँला भनेर वर्षभरि मेहनत गर्‍यो अन्तिममा ढुवानीकै समस्या हुन्छ स्याउ बजारसम्म पुर्‍याउन नसके बारीमै कुहिन्छन् होला, त्यस्तो हुँदा छोरा छोरी के गरी पाल्ने?, के गरी पढाउने ? हाम्रो मुख्य व्यवसायनै स्याउ खेती हो ।”, जुकोटका अर्का स्याउ कृषक पुरेन्द्र शाहीले गुनासो गर्नुभयो ।

वर्षा सुरु भएदेखि नै अवरुद्ध बनेको मार्तडी कोल्टी सडक खण्ड कहिलेसम्म खुल्ने भन्ने टुङ्गो लागेको छैन भने हवाई जहाजमार्फत जिल्ला बाहिरका शहरहरुमा पठाउन पनि मौसम खराबी भइरहँदा कोल्टिमा नियमित जहाज सञ्चालन हुन सकेको छैन।

बाजुरामा कुल ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिँदै आइएको छ। जसमध्ये हाल उत्पादनशील क्षेत्र १ सय ७५ हेक्टर रहेको छ भने जम्मा उत्पादन १ हजार १ सय३७ मेक्ट्रिक्टन हुने गरेको छ।

मा प्रकाशित