१६ मंसिर,काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउनेगरी कार्य गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले वदलिँदो समयसंगै राष्ट्रिय वाणिज्य बैक रुपान्तरीत भै अग्रणी बैँक बन्नु पर्नेमा जोड दिनु भयोे ।
उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई अनुरोध गर्नुभयो ।
सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैँकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको बढि रुचाईएको बैँक बनाउन आग्रह गर्नु भएको हो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताउनुभयो ।
सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसंग जोड्दै लैजाने दावी गर्नु भयो ।
यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताउनुभयो ।
उहाँले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसंग बाणिज्य बैँकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताउनुभयो ।
प्रतिस्प्रर्धी बजारको माग अनुसार बैँकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले अहिले भईरहेको एकल अंकको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरु पार गर्न राष्ट्रिय बाणिज्य बैँकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैँकको सेवा प्रवाहमा सुधारको सुरुवात भईरहेको प्रति खुसी व्यक्त गर्नुभयो ।
मा प्रकाशित