१९ पुष चितवन । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ ।
फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो ।
नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् ।
कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पु¥याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो ।
कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ
समितिका सञ्चालक सदस्यहरूमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु प्रबन्ध सञ्चालक विनोद पोखरेलले जानकारी दिनुभयो ।
विसं २०७४ मा स्थापना भएको यस कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ ।
उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने ह्याप्पी एग’को ब्रान्डमा ब्रान्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको प्रबन्ध सञ्चालक पोखरेलले जानकारी दिनुभयो ।
यहाँ उत्पादित अण्डा देशका प्रमुख सहरहरूसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ ।
प्रबन्ध सञ्चालक पोखरेलका अनुसार दाउन्नेको फार्ममा जर्मन र मलेसियाबाट आयात गरिएका स्वचालित एवं अत्याधुनिक उपकरण जडान गरिएका छन् ।
नेपालमा लामो समयसम्म कुखुरापालन क्षेत्रमा अनुभव सँगालेका कृषक तथा व्यवसायीहरूको लगानीमा यो कम्पनी स्थापना भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । त्हाँका लगानीकर्ताहरूको पोलट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरूमा समेत लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष भट्ट बताउनुहुन्छ ।
नेपालमा तुलनात्मक रुपमा ठूलो सङ्ख्यामा कुखुरापालन गर्ने ‘एग्रो फार्म’ पहिलो कम्पनी भएको र शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग कम्पनीले सम्झौता गरिसकेको प्रबन्ध सञ्चालक पोखरेलले बताउनभयो ।
मा प्रकाशित