०१ माघ, काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
साधारण सभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको बताउनुभयो ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा सङ्कलित गरेको रु दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कोषले गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब सात करोड ६४ लाख कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा रु एक अर्ब १५ करोड ८७ लाख रहेको छ ।
उक्ता खुद मुनाफा रकमबाट रु २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताउनुभयो ।
“कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । साथै, अनावश्यक बैङ्क खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।
कोषद्वारा सञ्चालित नागरिक स्टक डिलरको गतिविधि र नाफा अवस्थाबारे जानकारी गराउँदै कार्कीले यो वर्ष कोष नाफामै रहेको र कर्मचारी विनियमावलीको संशोधन प्रक्रिया पनि अघि बढेको बताउनुभयो ।
त्यस्तै कोषको मधेस प्रदेशमा शाखा विस्तार गर्ने तयारी भइरहेको र आगामी दिनमा शाखा विस्तारले स्थानीय स्तरमा सेवा पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
त्यस्तै कोषको कर अघिको नाफा घटेको जस्तो देखिए कर पछिको नाफा मात्र घटेको स्पष्ट पार्दै उहाँले कोषको वित्तीय स्थायित्व सुनिश्चित रहेको दाबी गर्नुभयो ।
नागरिक लगानी कोषले आफ्ना गतिविधिहरूलाई पारदर्शी र जनउत्तरदायी बनाउन निरन्तर प्रयासरत रहेको उहाँले उल्लेख गर्नुभयो ।
मा प्रकाशित