
०८ कार्तिक, काठमाण्डौ । नेपाली राजदूतावास, दोहाले “विप्रेषण, हुन्डी र वित्तीय समावेशीकरण” विषयक छलफल कार्यक्रम आयोजना गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सहकार्य र उपस्थितिमा भएको छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव देवराज जोशीले विषय केन्द्रित प्रस्तुति दिनु भएकाे थियाे ।
प्रस्तुति दिनु हुँदै उहाँले वैदेशिक रोजगारी र विप्रेषणलाई नेपालको अर्थतन्त्रसँग जोड्दै, रेमिट्यान्सलाई औपचारिक प्रणालीमा ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाहरूका वारेमा जानकारी गराउनु भएको थियो ।

प्रस्तुति पश्चात् भएको खुला छलफलका क्रममा सहभागीहरूले हुन्डीको रोकथामका उपाय तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा भोग्नुपरेका समस्या र झन्झटबारे अनुभव सुनाउदै विप्रेषण पठाउँदा लाग्ने शुल्क घटाउने तथा प्रक्रियालाई थप सहज बनाउने विषयमा सुझाव राख्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर रावलले छलफलबाट नीति निर्माण तहका लागि महत्वपूर्ण पृष्ठपोषण प्राप्त गरेको बताउनु भयो ।
साथै, नेपाल राष्ट्र बैंकका निर्देशक डा.हरिकुमार नेपालले छलफलमा उठेका विषयहरूलाई सम्बोधन गर्दै जवाफ दिनु भएको नेपाली राजदूतावास दोहा, कतारले जनाएको छ ।
मा प्रकाशित