हाते तानमा बुनिएकाे पाल्पाली ढाकाको माग चाढबाड नजिकिएसंगै बढ्याे

आर्थिक परिवेश

१८ कार्तिक पाल्पा । पाल्पामा हाते तानबाट बुनिएकाे / उत्पादन भएको पाल्पाली ढाकाको माग चाढबाड नजिकिएसंगै बढेको छ ।

घरेलु तानबाट हातैले बुनेर तयारी गरिने ढाका कपडा उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।  ढाकाको उत्पादनमा विविधीकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको हो ।

हाते तानबाट उत्पादन हुने ढाका गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।

आधुनिक प्रविधि र मेसिनबाट उत्पादन हुने ढाका कपडा भन्दा हाते तानबाट उत्पादन हुने ढाका कपडा केही महँगो पर्ने भएपनि गुणस्तरका कारण बजार माग उच्च रहेको व्यवसायीहरू बताउँछन् ।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा पाल्पाली ढाकाको व्यापार बढ्ने गरेको छ । तिहार लगत्तै आन्तरिक तथा बाह्य पर्यटकको भ्रमणको समय भएकाले पर्यटकको रोजाईमा पाल्पाली ढाका पर्ने गरेको व्यवसायीहरू बताउँछन् ।

तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने प्रचलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको छ ।

पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुँदै आएको छ ।

तिहारमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा सारी, कुर्ता सुरुवाल, झोलालगायतका सामाग्री उपहारका रुपमा दिने र लिने गरिन्छ ।

बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्रीहरु ढाकाबाट बन्ने गरेको छ । तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा ढाका टोपीको प्रयोग बढी हुने गर्दछ  ।

यस बर्ष बाढी पहिरो लगायतका घटनाले चाडबाड त्यति उत्साहप्रद नभएपनि विगतमा ढाकाको निकै राम्रो ब्यापार हुने गरेको र यस बर्ष तिहार र भ्रमणको सिजन सुरु हुनै लागेकाले ब्यापार राम्रो हुने अपेक्षा राखेको ढाका व्यवसायी राजेश भट्टराईले बताउनुभयो ।

चाडपर्वमा स्थानीय उत्पादनको प्रयोग बढ्दा परम्परागत सीप संरक्षणसँगै स्थानीय व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरेको छ ।

मा प्रकाशित