विकास र सामाजिक क्षेत्रको बजेट कटौती गरी विपद्पछिको पुनर्निर्माणमा खर्च गर्नु परेकाे छ : अर्थमन्त्री

आर्थिक परिवेश

२५ कात्तिक, काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताउनु भएकाे  छ ।

टर्कीमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार ः जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा अर्थमन्त्री वाग्लेले त्यसताे धारणा राख्नु भएकाे हाे  ।

उहाँले जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने अवस्था रहेको पनि विश्वसमुदायलाई स्मरण गराउनु भयाे ।

अर्थमन्त्री वाग्लेले नेपाल जस्ता जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको पनि बताउनु भयाे ।

अर्थमन्त्री वाग्लेले नेपालको पछिल्लो विपद्पछि भारत, चीन, बेलायत, अमेरिका, युरोपेली सङ्घ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गर्नु भयाे ।

उहाँले जलवायुजन्य क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब २ करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको उल्लेख गर्दै उक्त सहयोग स्वागतयोग्य भएपनि जोखिममा रहेका मुलुकको आवश्यकताको तुलनामा कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको बताउनु भयाे ।

मा प्रकाशित