
२५ कात्तिक,पोखरा । नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा यस वर्षको तिहार पर्व निकै उल्लासपूर्ण र भव्य रूपमा मनाइएको छ।
नेपालीहरूको महान् चाड तिहारका अवसरमा पोखरामा आएका विभिन्न देशका विदेशी पर्यटकहरूले नेपाली परम्पराअनुसार भाइटीका लगाएर र देउसी–भैलो खेलेर तिहारको भरपूर आनन्द लिएका छन्।
स्थानीय संस्कृति र रीतिरिवाजप्रति आकर्षित हुँदै विदेशी पर्यटकहरूले नेपाली शैलीमा तिहार मनाएको यो पहिलो पटक भने होइन, तर यस वर्ष यसले अझ विशेष रूप लिँदै सांस्कृतिक सद्भावको अनुपम उदाहरण प्रस्तुत गरेको छ।
पोखराका विभिन्न होटेल, होमस्टे तथा पर्यटकीय क्षेत्रमा बसेका पर्यटकहरूले नेपाली महिलाहरूसँग दाजुभाइ बनाएर टीका र मखमली फूलको माला लगाएका थिए।
नेपाली पोसाक (दौरा–सुरुवाल, साडी र गुन्युचोली) मा सजिएका पर्यटकहरूको मुहारमा तिहारको उल्लास प्रष्ट झल्किन्थ्यो। उनीहरूले सेलरोटी, फिनि,
अनरसाजस्ता नेपाली परिकारहरूको स्वाद लिएका थिए भने नेपाली लोकबाजाको तालमा देउसी–भैलो खेलेर रमाएका थिए।
फ्रान्सबाट पोखरा भ्रमणमा आएकी एक पर्यटकले भनिन्, “नेपालको तिहार पर्व एकदमै रमाइलो र रंगीचंगी लाग्थ्यो।
आज प्रत्यक्ष रूपमा टीका लगाएर, माला पहिरेर र सेलरोटी खाएर यो पर्व मनाउन पाउँदा मलाई आफ्नै देशमा जस्तै महसुस भयो। नेपालीहरूको आतिथ्यता र प्रेमको भावना अद्भुत छ।”
पर्यटन व्यवसायीहरूका अनुसार, यस किसिमका सांस्कृतिक गतिविधिहरूले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुर्याएको छ।
विदेशी पर्यटकहरूले नेपाली चाडपर्वमा सक्रिय सहभागिता जनाउँदा उनीहरूमार्फत नेपालको मौलिक संस्कृति विश्वभर प्रचारप्रसार हुने विश्वास गरिएको छ।
तिहारको झिलिमिली बत्ती, देउसी–भैलोको सुमधुर स्वर र पोखराको प्राकृतिक सौन्दर्यबीच विदेशी पाहुनाहरूले मनाएको यो तिहारले ‘अतिथि देव भव:’ को भावनालाई अझ बलियो बनाएको छ।