विद्युतीय तार भूमिगत गर्ने काम पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत सम्पन्र

आर्थिक परिवेश

 २६ पाेखरा, गण्डकी।   नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न

गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ ।

पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर

क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको इन्जिनियर सुवेदीले बताउनुभयो । प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र तथा पर्यटकीय

आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ ।

त्यस्तै, सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको र अब विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको छ । अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा

सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ ।

आयोजनाअन्तर्गत पोखराका मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार भूमिगत गर्ने काम भइरहेको छ । विद्युत्का तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ ।

भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युतीय पोल र तार हटाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरामा छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ ।

त्यस्तै, भरतपुरमा कुल १५६.३३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १५५.३७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ ।

त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । भरतपुरका एक हजार २०० घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याउने लक्ष्य रहेको छ ।

अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाएर तार भूमिगत गर्दा सहरी सौन्दर्य कायम हुनुका साथै दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ ।

सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले आयोजनाको निर्माण ठेक्का पाएको थियो ।

एसियाली विकास बैंकको करिब ३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा प्राधिकरणले पोखरा र भरतपुरमा वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो ।

मा प्रकाशित