
७ मंसिर, काठमाडौं । भारतले नेपाललाई दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरेकाे छ।
नेपाल र भारतका प्रधानमन्त्री बीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई समृद्ध र विकसित बनाउने यात्रामा भारत सधैँ साथमा रहने बताउनु भयाे ।
भारतले नेपाललाई दिने घोषणा गरेको २ खर्ब ४० अर्ब विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पछि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त रकम खुलाइएको हो।
यसअघि दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता उपलब्ध गराउने घोषणा भारतीय प्रधानमन्त्री मोदीले गरेका थिए।
भारतले विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजना सञ्चालनका लागि ५६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराउने घोषणा गरेको छ।
यसअघि यस्तो ऋणको ब्याजदर अमेरिकी डलरमा तिर्नुपर्थ्यो। अब नेपालले भारतीय रुपैयाँमा उक्त कर्जाको ब्याज तिरे हुने भएको छ। यसो हुँदा नेपाललाई ब्याज सस्तो पर्छ।
नेपालको विकास, पुनर्निर्माण र पूर्वाधार विस्तारमा सहयोग गर्ने उद्देश्यले उक्त सहायता घोषणा गरिएको हो। सहायता परिचालनअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजना
र सहयोग उपलब्ध गराउने प्रक्रिया भने दुवै देशबीचको आपसी परामर्शबाट अन्तिम रूप दिइने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
मा प्रकाशित