नेपाल र भारतका प्रधानमन्त्रीले विकास साझेदारीका लागि संयुक्त दृष्टिपत्र स्वीकृत गरे

आर्थिक परिवेश

७ मंसिर, काठमाडौं ।    नेपाल र भारतका प्रधानमन्त्रीले ‘समुन्नत नेपाल र विकसित भारत’ निर्माणका लागि संयुक्त दृष्टिपत्र (ज्वाइन्ट भिजन पेपर) स्वीकृत गर्नु भएकाे छ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा उक्त संयुक्त दृष्टिपत्रलाई स्वीकृत गरिएको हो।

संयुक्त दृष्टिपत्रले नेपाल र भारतबीचको विकास साझेदारीलाई थप विस्तार गर्दै भविष्य केन्द्रित सहकार्यका लागि मार्गचित्र प्रदान गर्ने नेपाल र भारतको परराष्ट्र मन्त्रालयले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

दश बुँदे दृष्टिपत्रमा समेटिएका विषयहरु 

परराष्ट्र मन्त्रालयले जारी गरेको दश बुँदे दृष्टिपत्रमा समग्र आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता,

सुशासन, प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तन, शिक्षा तथा सीप विकास, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य, कृषिलाई विस्तृत रुपमा समेटिएको छ।

यसमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्न जलवायु उत्थानशीलता अभिवृद्धि, विपद् न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

त्यसैगरी, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्य र सम्भावना विकास गर्ने विषयसमेत त्यसमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ।

दुवै देशबीचको साझेदारीलाई नयाँ क्षेत्रमा विस्तार गर्ने उद्देश्यसहित तयार गरिएको उक्त दृष्टिपत्रलाई नेपाल र भारतको भावी सहकार्यको मार्गचित्रका रूपमा लिइएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।

मा प्रकाशित