अघिल्लो बर्षको तुलनामा मुल्यवृद्धि दोब्बरले बढेको छ

आर्थिक परिवेश

काठमाण्डौ । चालु आर्थिक बर्ष २०७९को असार महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मुल्य वृद्धि ) बढेर ८.०८ प्रतिशत पुगेको छ ।
२०७८असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८÷७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन गएको नेपाल राष्ट्र बैकले मंगलवार जारी गरेको गत आर्थिक बर्षको मुलुकको आर्थिक अवस्थाको विष्लेण सम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि आर्थिक वर्ष २०७८÷७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहेकोे थियो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८÷७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ । साथै, यस बर्ष गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।
गत आर्थिक बर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.०० प्रतिशत रहेको थियो । २०७९ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६.८९ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ५.८१ प्रतिशत रहेको थियो ।

मा प्रकाशित