त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता तीन सय दिन तालाबन्दी, पठन पाठनको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

आर्थिक परिवेश

काठमाडौँ । प्रतिनिधिसभाको सोमवारको बैैठकमा सांसदहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दीको  समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैैठकमा सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्ष गराउनु भएको छ ।

सोमवारको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ भन्दै सरकारलाई त्यसको व्यवस्था गर्नु आग्रह गर्नु भयो । साथै उहाँले देशभित्रै पनि कतिपय नागरिक विभिन्न कारणले मत हाल्ने अवसरबाट बञ्चित भएका छन् त्यसको लागि उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्ु भयो ।

सांसद डा डिला सङ्ग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सांसद दीलकुमारीले नागरिकताको विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद दीपक प्रकाश भट्टले शैक्षिक क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।
सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गलगायत मुलुकका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पार्वतीकुमारी विसङ्खेले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो ।
अर्का सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता तीन सय दिन तालाबन्दी भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले निर्वाचन घोषणा भइसकेपछि पनि संसद् सञ्चालन गर्न नहुने भन्दै संसद्को अन्त्य गरिनुपर्ने माग गर्नुभयो । सांसद डा विजय सुब्बाले साझा प्रकाशनलाई व्यवस्थित गर्दै अगाडि बढाउनेबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा पुष्पाकुमारी कर्ण कायस्त, पार्वता डिसी चौधरी, नवराज सिलवाल, दलबहादुर राना, दिव्यमणि राज भण्डारीले महँगी र भष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मा प्रकाशित