काठमाण्डौ । नेपाल र अमेरिका बीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदान प्रदानजस्ता कृयाकलापहरुलाई अझ बृद्धि गर्नु आवश्यक भएकोमा जोड दिइएको छ ।
नेपाली उत्पादन,नेपाली खानाका परिकार तथा पर्यटन प्रवर्द्धनमा गैर आवासीय नेपाली समुदायको भूमिका विषयक एक दिने अन्तरकृया कार्यक्रमका वक्ताहरुले अमेरिकामा नेपाली उत्पादनहरुको बजारीकरण गर्न गैर आवसीय नेपालहरुको भूमिका थप बढेर गएको बताउनु भयो ।
नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैर आवासीय नेपाली संघ,न्यूयोर्क च्याप्टरसंगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघ संस्था लगायतको सहभागितामा शनिवार न्यूयोर्कमा अन्तरकृया आयोजना गरिएको हो ।
एन.आर.एन.ए– न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारले चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
न्यूयोर्कका लागि कार्यवाहक नेपाली महावाणिज्यदूत बिष्णु गौतमले नेपाल र अमेरिका बीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार राख्नु व्यक्त गर्नु भयो ।
दुई देशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै उहांले नेपाल र अमेरिका बीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदान प्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने विचार राख्नुभयो ।
विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको एकीकृत प्रयास आवश्यक हुने बताउनु भयो ।
कार्यबाहक महावाणिज्यदूत गौतमले आफ्नो प्रस्तुतीको क्रममा नेपाल र अमेरिका बीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसका लागि थप बजारीकरण आवश्यक रहेको बताउनु भयो ।
दुईपक्षीय व्यापारको अवस्था,अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिनुभयो ।
अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रसंसा गर्दै उहांले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गर्नुभयो ।
अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीद्वारा प्रस्तुतीकरण गरिएको थियो ।
प्रस्तुतीकरणमा नेपालको प्रवर्द्धनका लागि आ–आफ्ना तर्फबाट भइरहेका प्रयास,अवसर र चुनौती तथा नेपालमा स्थानीयस्तरमा उत्पादित बस्तु,अन्य बस्तु निर्यात संजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राख्नुभएको थियो ।
मा प्रकाशित