काठमाडौँ । स्वदेशी जुत्ता तथा चप्पलहरुको बजार प्रर्वद्धन गर्ने उद्देश्यले बिहिवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।
अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नु भएको छ ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपाल जुत्ता–चप्पल उत्पादक सङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनीको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले किसान र उद्योग व्यवसायीको मनोबल बढाउन सके मात्रै देशले आर्थिक विकास गर्न सक्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले देशमा उपलब्ध साधन–श्रोतको दिगो उपयोग गरी स्वदेशी उत्पादनमा जोड दिन सके चुलिँदो व्यापार घाटा कम गर्न सहयोग पुग्ने पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आर्थिक विकासका लागि पहिचान गरिएका तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी बढाउन र स्वदेशी उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा विना विभागीय मन्त्री दामोदर भण्डारीले निजी क्षेत्र सँगको सहकार्य बिना सरकारले लिएको आर्थिक विकासको लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो ।
मन्त्री भण्डारीले कोरोनाका कारण शिथिल बन्दै गएको अर्थतन्त्रलाई सुधार गर्न नवगठित सरकारको न्यूनतम साझा कार्यक्रममा मार्फत् निजी क्षेत्रका मागहरू सम्बोधन हुनेगरी कार्यक्रमहरू ल्याउने प्रयास भइरहेको पनि बताउनुभयो ।
प्रर्दशनीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैङ्कहरूमा देखिएको तरलताको समस्या र निरन्तर बढ्दै गएको ब्याजदरका कारण साना लगानीका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको हुनाले त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ, भन्नु भयो ।
मा प्रकाशित