काठमाडौं। नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। लाभांश बुक क्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले पाउँछन्।
कम्पनीका अनुसार साधारण सभामा करिब ९१.६ प्रतिशत सेयरधनीहरुको उपस्थिति थियो । सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत निर्धारण गरिएको छ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोभिड–१९ महामारी तथा यसको प्रभाव र असरबीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गरे।
उनले सभामा बोल्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।