काठमाडौँ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउनु पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो ।
चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैङ्कको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैङ्कहरू मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभूति हुने गरी वाणिज्य बैङ्कको सङ्ख्या घटेको हो ।
पुस महिनामा मात्रै आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैङ्क मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गर्नुभएको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैङ्कहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ ।
उहाँले बैङ्क तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैङ्कको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैङ्कलाई समेत मर्जरका लागि प्रेरित गरेको बताउनुभएको थियो ।
दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैङ्कको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैङ्ककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ ।
नयाँ सञ्चालक समितिमा दुवै बैङ्कको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनुभएको छ । साविक इन्भेष्टमेन्ट बैङ्कमा स्वतन्त्र सञ्चालकका रूपमा रहनुभएका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहनुभएको छ ।
मर्जरपश्चात् बैङ्कको कुल चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल पुँजी रु ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैङ्कमध्येको अग्रणी बैङ्क बनेको छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।
पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैङ्कहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।
आठ वाणिज्य बैङ्क मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैङ्क अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैङ्क तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैङ्क एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
कुमारी बैङ्क र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैङ्क मर्जरपश्चात् गत पुस १६ देखि कुमारी बैङ्कको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैङ्क १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कुल निक्षेप रु तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् ।
अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहनुभएको छ । नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैङ्क अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैङ्क अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याबिनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य बन्नुभएको छ ।
मर्जरपश्चात् बैङ्कको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैङ्क सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैङ्कको कुल पुँजी कोष रु ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कुल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पुर्याएको छ ।
हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैङ्कको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैङ्क छ । बैङ्कमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
बैंकका अध्यक्ष ढकाल बैङ्क तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैङ्क तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैङ्क बन्न सफल भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैङ्क र छवटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैङ्क अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैङ्क भएको छ ।”
त्यस्तै प्रभु र सेञ्चुरी बैङ्क मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैङ्कको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैङ्क र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैङ्कको चुक्ता पुँजी रु २३ अर्ब ५२ करोड पुगेको छ ।
एकीकृत कारोबारपछि प्रभु बैङ्कको कुल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी रु २२ अर्ब, कुल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ ।
एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैङ्कमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ ।
प्रभु बैङ्कबाट चार जना र सेञ्चुरी बैङ्कबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा रमेशसिंह खड्का, शङ्करप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य रहनुभएको छ ।
यसैगरी लक्ष्मी बैङ्क र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुवै बैङ्कबाट दुई(दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ ।
दुवै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मी बैङ्कको चुक्ता पुँजी रू ११ अर्ब ५५ छ भने सनराइज बैङ्कको रू १० अर्ब ११ करोड छ ।
मा प्रकाशित