शोधनान्तर र विदेशी विनिमय सञ्चिति सकारात्मक अर्थतन्त्रमा सुधारकाे संकेत

आर्थिक परिवेश

काठमाडाै । नेपालकाे शोधनान्तर स्थितिमा सकारात्मक सुधार भै अर्थतन्त्रमा सुधारकाे संकेत देखिएकाे छ  । चालु आर्थिक वर्ष शुरु भएपछि लगातार तेस्रो महिना पनि शोधनान्तर स्थिति सकारात्मक बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिना (मंसिर मसान्तसम्म)को तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति लगायतका परिसूचकहरुमा सुधार देखिएको छ ।

सरकारले गरेको आयात प्रतिबन्धको असर स्वरुप विगतका केहि महिनाहरूमा  नेपालकाे विदेशी मुद्रा सञ्चितिकाे अवस्थामा सुधार भै  शोधनान्तरको अवस्था सकारात्मक बन्न पुगेको हो ।

कोभिड महामारीको असर एवम् लगत्तै शुरु भएको रुस युक्रेन युद्धको असर स्वरुप गत आवमा नेपालको बाह्य अवस्था एकदमै खराब अवस्थामा थियो ।
 अघिल्लो आवदेखि लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनादेखि भने लगातार सकारात्मक हुँदै अाएकाे  छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेकाे मुलुककाे आर्थिक  अवस्था सम्बन्धी प्रतिवेदनमा  पछिल्लो पाँच महिनाको अवस्था अनुसार देशको शोधनान्तर अवस्था ४५ अर्ब ८७ करोडले सकारात्मक रहेको देखिएकाे छ ।
चालु आवको पहिलो महिना २२ अर्ब ६३ करोड रुपैयाँ, दोस्रो महिना २३ अर्ब ६८ करोड रुपैयाँले नकारात्मक रहेकोमा तेस्रो महिनादेखि सकारात्मक हुन थालेको हो ।
असोज महिनामा १२ अर्ब ४३ करोड रुपैयाँले सकारात्मक रहेको शोधनान्तर अवस्था कार्तिकसम्ममा आइपुग्दा २० अर्ब ३ करोड रुपैयाँ र मंसिर महिनासम्म पुग्दा ४५ अर्ब ८४ करोड रुपैयाँले सकारात्मक हुन पुगेको छ ।
सरकारले पुस महिनादेखि लागू हुने गरी मदिरा, मोबाइल र सवारी साधनको आयात खुला गरिसकेको छ । आयात खुला गरेपछि त्यसले देशको वैदेशिक मुद्रा सञ्चितिमा गरेको असरको नतिजा हेर्न भने राष्ट्र बैंकको पुस मसान्तको आर्थिक अवस्था सम्बन्धि प्रतिवेदन नै कुर्नुपर्नेछ ।

शोधनान्तर स्थिति भनेको नेपालमा भित्रिने र नेपालबाट बाहिरिने रकमको वास्तविक तथ्यांक हो । चालु आर्थिक वर्षको मंसीर मसान्तसम्म आउँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि एवम् सरकारले विगत केही महिनादेखि सवारीसाधन, मदिरा, मोबाइललगायतका वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको शोधनान्तर स्थिति सकारात्मक देखिएको हो ।

बजारमा मन्दीको असरस्वरुप सामानको माग नहुँदा आयात व्यापार समेत २० प्रतिशतले घटेको छ । यसको सकारात्मक असर समेत शोधनान्तर अवस्था सकात्मक बन्न पुगेका एक अर्थविद्ले बताउनु भएकाे  छ ।

नेपालले रेमिट्यान्स आप्रवाहका लागि गरेको विभिन्न प्रयास मध्ये वैदेशिक रोजगारमा गएका कामदारलाई आइपीओमा कोटा छुट्याउने नीति पनि एक हुन सक्दछ । आइपीओ कोटाले गर्दा समेत रेमिट्यान्स बढ्न सघाउ पुगेको अर्थविद्को दाबी छ । चालु आवको मंसिरसम्म आइपुग्दा ४ खर्ब ८० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ भने मासिक रुपमा मंसिरमा मात्रै सबैभन्दा बढी १ सय २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

विदेशी मुद्रा सञ्चिति वृदि

पाँचौ महिनासम्म आइपुग्दा देशको कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ८२ करोड अमेरिकी डलर पुगेको छ । चालु आवको शुरुमा देशको विदेशी मुद्रा सञ्चिति ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै रहेको थियो । देशमा विद्यमान मुद्रा सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

आयातको २०.७ प्रतिशत प्रतिशत घट्दै जानु एवम् निर्यात समेत ३४.६ प्रतिशतले घट्दै जाँदा देशको समग्र व्यापार घाटा अघिल्लो आवको सोही महिनाको तुलनामा १८.८ प्रतिशतले खुम्चेर ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स मंसीरमा २३ प्रतिशतले बढयाे 

अमेरिकी डलर हरेक दिन बलियो हुँदै जाँदा चालु आवको पहिलो महिनामा रेमिट्यान्स पनि बढेको देखिएको छ । देशमा श्रावणमा ९२ अर्ब २१ करोड, भदाैंमा ४ अर्ब २१ करोड, असोजमा पनि ९४ अर्ब १ करोड, कार्तिकमा ९६ करोड ९९ लाख रुपैयाँ र मंसीरमा १ खर्ब २ करोड ४६ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । मंसीर महिनाको रेमिट्यान्सको वृद्धिदर अघिल्लो वर्षको सोही महिनाको भन्दा २३ प्रतिशतले बढी हो ।

मंसिर महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट २३ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर ४२ अर्ब ८ करोड खर्च गरेका छन् । नेपालको खुद सेवा आय २६ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

मंसीर महिनामा आयात व्यापारमा कमी आएर खुद व्यापार घाटामा कमी आउनु एवम् रेमिट्यान्स आप्रवाहमा समेत सुधार देखिंदा देशको शोधनान्तर स्थिति नाफामा गएको छ ।

आयातमा व्यापक नियन्त्रण गर्दा शोधनान्तर स्थिति नाफामा देखिनु एवम् वैदेशिक मुद्रा सञ्चिति समेत बढ्नुले देशको अर्थतन्त्र खराब अवस्थाबाट विस्तारै सुधारोन्मुख रहेको जनाउ दिन्छ ।

देशले अहिलेको तरलता संकटको समयमा विदेशबाट धेरै भन्दा धेरै लगानी भित्रयाउनु पर्नेमा चालु आवको पाँच महिनासम्म ६० करोड ४९ लाख रुपैयाँ मात्रै वैदेशिक लगानी भित्र्याएको छ ।

सरकारले धेरै आयात हुने मोबाइल, सवारी साधनलाई रोकेर शोधनान्तर अवस्था सकारात्मक देखाए पनि आगामी दिनमा बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउने र बढी भन्दा बढी वस्तु निर्यात गर्न सकेमा भने आगामी दिनमा नेपाली अर्थतन्त्र द्रुत गतिमा अघि बढ्ने अपेक्षा गर्न सकिने अवस्था अाउन सक्छ ।

मा प्रकाशित