सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने

आर्थिक परिवेश

काठमाण्डौ । नेपाल सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

सरकारको निर्णय अनुसार कृषि मन्त्रालयले अन्य सम्वद्ध निकायहरुको समेत सहभागितामा साताव्यपी रुपमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।

नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्ति समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने तथा विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत गरी यस वर्षदेखि निरन्तरूपमा माघ १ गते यो दिवस मनाउन लागिएको बताउनुभयो ।

माघे सङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, शखरखण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा, मासु, घुँगी, अण्डालगायत परिकार बनाएर खाने परम्परा छ ।

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन एवं स्वच्छ वातावरणको मुख्य आधार भएको उल्लेख गर्दै सरकारले बजेट वक्तव्यमार्फत २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्न लागेको हो ।

नेपालका रैथाने कृषि जैविक विविधता बाली, घाँसेवाली, पशुपक्षी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्यमध्ये करिब ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ ।

संसारमा पाँच हजार पाँच सयको सङ्ख्यामा खान मिल्ने वनस्पति र बोटविरुवा रहेकाले तिनको संरक्षण हुन नसकेका खण्डमा समग्र मानवजातिकै अस्तित्व सङ्कटमा पर्न जाने विज्ञहरुले बताउनु भएको छ ।

कृषि जैविक विविधताको अभियान भान्साबाट सुरु होस् भन्नाका खातिर खानाको विविधतालाई सांस्कृतिसँग जोडेर माघे सङ्क्रान्तिलाई विविधता दिवसका रूपमा मनाउने निर्णय भएको बाली विकास तथा कृषि जैविक विविधा संरक्षण केन्द्रका निर्देशक डा रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

केन्द्र, प्रदेश र पालिकाबीचको समन्वयमा औपचारिक तथा अनौपचारिकरूपमा खाद्य परिकार मेला, अन्तक्र्रिया, संरक्षणमा योगदान पु¥याउनेलाई पुरस्कृत गरी मनाइने छ ।
जैविक स्रोत संरक्षणका लागि वृक्षरोपण, बीउ संरक्षण, सूचीकृत तथा रैथाने परम्परागत प्रविधि र सामाग्री सङ्कलन तथा प्रदर्शनसँग लक्षित कार्यक्रम छ । केन्द्रले रैथाने परिकार विविधीकरण र बजारीकरण, साझेदारी र सहकार्य, विद्यालय दिवा खाजा कार्यक्रममा रैथाने परिकार समावेश तथा जैविक विविधता संरक्षणमा संलग्नलाई सम्मान र पुरस्कृतका प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कृषि जैविक विविधता संरक्षणका लागि किसान आयोग, सङ्घ र प्रादेशिक मन्त्रालय मतहतका कार्यालयबाट प्रवद्र्धनात्मक, प्रोत्साहनमूलक तथा विश्वविद्यालयद्वारा अध्यापन, अनुसन्धानको काम हुँदै आएको छ भने सरकारले स्थानीय रैथानेबाली प्रवद्र्धन तथा कृषि जैविक विविधता संरक्षणका लागि सातै प्रदेशका २७ पालिकालाई अनुदान सहयोग उपलब्ध गराएको छ ।

मा प्रकाशित