अख्तियारद्वारा नेपाल रेल्वेको करिव २ हजार विघा जग्गा संरक्षण गर्न वारा र पर्सा प्रशासनलाई निर्देशन

आर्थिक परिवेश

१६ माघ ,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा र पर्साका जिल्ला प्रशासन र जितपुरसिमरा उपमहानगरपालिकालाई रेल्वेको जग्गा संरक्षण गर्न निर्देशन दिएको छ ।
आयोगले एक पत्र लेख्दै नेपाल गभर्मेन्टको रक्सौल अम्लेखगंज–रेलमार्गमा पर्ने १ हजार ७ सय ४९ बिघा जग्गा अतिक्रमणमा परेकाले संरक्षण गर्न निर्देशन दिएको छ ।

अतिक्रमण गरिएका जग्गाहरुमध्ये वीरगञ्जको पावर हाउस चोकदेखि पूर्व पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगको कब्जामा रहेको छ ।

रेल्वे क्षेत्रको जग्गा कतिपय अतिक्रमणकारीले नापीबाट प्रमाणित गराएर व्यक्तिगत बनाइसकेका छन् । परवानीपुर ,जीतपुर र सिमरा क्षेत्रमा रेल्वेको जग्गामा बस्ती बसेको छ ।
तत्कालीन नेपाल सरकारले भारतको रक्सौलमासमेत तत्कालीन बेलायती सरकारसँग सन् १९२७ जुन १९ मा खरिद गरेको १६ बिघा १ कठ्ठा ४ धुर जग्गासमेत अतिक्रमणमा परेको समाचार सञ्चार माध्यममा आएकाले त्यसतर्फ आफनो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

रेल्वेको जग्गा संरक्षण गरी अतिक्रमण हुनबाट बचाउन र सम्बन्धित मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ,२०४८ को दफा २८ को उपदफा (१) बमोजिम लेखि पठाउन अनुरोध गरेको छ ।

मा प्रकाशित