नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्छ :  प्रधानमन्त्री दाहाल

आर्थिक परिवेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग  सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गर्नुभएको थियो ।

“मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’’ उहाँले भन्नुभयो, “यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिनुभयो । यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिकहरू इमानदारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्नुहुँदै भविष्यमा नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागि समेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट श्रमिकहरू समेत उत्प्रेरित हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले राख्नुभएको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताउनुभयो ।

उहाँले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिनुहुँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली श्रमिकहरूको प्रशंसा गर्दै कामदारहरूलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताउनुभयो ।

छलफलपछि दुवै पक्षबीच नेपाल र मलेसियाबिच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारी पत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ । यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्नेछन् ।

भेटका अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा संवाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भावनाहरूमा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

मा प्रकाशित