माघ २१,भैरहवा । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेज ) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘ लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री पौडेलले शनिबार यस्तो भनाइ राख्नु भएकाे हाे ।
पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै उँहाले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयन गरिने छ अर्थमन्त्रीले भन्नु भयाे ।’
विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति भएको र अहिले त्यो काम पूरा भइसकेकाले अब तीव्र रुपमा क्षमता विस्तार गरिने उनले बताउनु भयाे ।
‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएकाे तर सरकारकाे तर्फबाट म भन्न चाहन्छु , विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ । र त्यसमा कसैको अवरोध हुनेछैन् र विमानस्थलकाे क्षमताकाे उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुने अर्थमन्त्रीले भन्नु भयाे ।
अर्थमन्त्री पौडेलले लुम्बिनीको विकाससँग सरोकार राख्ने तथा शुभचिन्तक सबैलाई विमानस्थल निर्माणमा सकारात्मक सहयोग गर्न पनि आग्रह गर्नु भयाे ।
मेरो मृत्युपछि लुम्बिनी जानु’ भन्ने गौतम वुद्धकाे सन्देश संसारभरका वौद्ध धर्मालम्बीहरुसमक्ष पुर्याउनु पर्ने अावश्यकता अाैल्याउदै उपप्रधान एवम् अर्थमन्त्री पौडेलले लुम्बिनीको महत्त्व र अपार सम्भावना रहँदा रहँदै पनि राष्ट्रले विविध कारणले त्यसको उपयोग गर्न नसकेको बताउनु भयाे ।
उहाँले लुम्बिनी असीमित सम्भावनाको क्षेत्र हो । आज हामीले जति देखेका छौं र देख्न सक्छौं त्यो भन्दा यसको उपादेयता अफ व्यापक छ भन्दै लुम्बिनीको सम्भावना प्राप्तिमा राज्यले कुनै पनि कसुर बाँकी राख्दैन भन्नु भयाे ।
लुम्बिनीको विकाससँगै यसकाे महत्वका वारेमा व्यापक रुपमा प्रचारप्रसार गरेर विश्वभर फैलाउनु पर्ने उँहाको भनाइ थियो । लुम्बिनीको व्यापक प्रचारप्रसार गरेर विश्वभरमै महत्त्वपूर्ण र लोकप्रिय पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्नेमा अर्थमन्त्री पौडेलले जाेड दिनु भयाे । मुलुकको समग्र विकासमा लुम्बिनीले महत्त्वपूर्ण योगदान दिन सक्ने अर्थमन्त्री पौडेलको भनाइ थियो ।