सरकार कृषिजन्य वस्तुको आयात रोक्न तयार छ : कृषि मन्त्री साह

आर्थिक परिवेश

माघ २१, चितवन । कृषि तथा पशुपंछी विकास मन्त्री ज्वालाकुमारी शाहले सरकार कृषिजन्य वस्तुको आयात रोक्न तयार रहेको बताउनु भएको छ ।
कृषिमन्त्री साहले आयात रोक्न नाकाहरुमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाईका साथ लाग्न र कृषि क्षेत्रको समस्या समाधान गर्न तयार रहेको बताउनुभयो ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको चितवनमा आयोजित तेस्रो साधारण सभा तथा अधिबेशनमा बोल्दै कृषिमन्त्री साहले कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नु आवश्यक भएको बताउनुभयो ।
सबैभन्दा बढी समस्या कृषि क्षेत्रमा रहेको भन्दै उहांँले किसानका समस्या समाधानका नीतिगत रुपमा समेत काम गर्ने उल्लेख गर्नु भयो ।
किसानलाई राहत हुने गरि कृषिजन्य उपजमा भएको बिचौलिया नियन्त्रणका लागि सरकारले खरिद विक्रीमा अनुमतिपत्रको व्यवस्था गर्ने समेत कृषि मन्त्रीले बताउनु भयो ।
कृषि क्षेत्रमा लगानी अनुसार मूल्य नपाउँदा युवा विदेशिनु परेको भन्दै उहाँले यसको नियन्त्रणका लागि स्वदेशमै युवालक्षित कृषि कार्यक्रमहरु सरकारले ल्याउने योजनामा रहेको बताउनुभयो ।
कार्यक्रममा किसानका प्रतिनिधिहरुले तत्काल कृषि परिचय पत्र दिनु पर्ने, दूधको मुल्य र वास्तविक किसानलाई उत्पादनको आधारमा अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने, नियमित संचालनमा नरहेका कृषि फार्मलाई अनुदान र सहुलियत बन्द गर्नुपर्ने र कृषिजन्य बस्तुको आयात रोक्दै दानाको मुल्य घटाउनु पर्नेमा जोड दिनुभएको थियो ।

मा प्रकाशित