६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रियो, शोधनान्तर बचत एक खर्ब नजिक

आर्थिक परिवेश

माघ २३, काठमाडाै ।  चालु आर्थिक बर्षको छ महिनाको अवधिमा नेपालमा हुने विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैकले सोमवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा यस अवधिमा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैया बराबरको बिप्रेषण रकम नेपालमा भित्रिएको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

पोहोर बर्षभरी नै ऋणात्मक रहेको शोधनान्तर पुस मसान्तसम्म आइपुग्दा करिव एक खर्बले बचतमा पुगेको छ। राष्ट्र बैंकका अनुसार शोधनान्तर बचत ९७ खर्ब १० करोड रुपैयाँ पुगेको छ।

चालु खाता घाटा भने यथावत छ। यद्यपी पोहोरभन्दा घाटा कम हो। यसपाली २९ अर्ब ४७ करोड रुपैयाँ चालु खाता घाटामा छ। पोहोर ३५३ अर्ब १६ करोड घाटामा थियो।

 

मा प्रकाशित