७ महिनामा सरकारकाे विकास खर्च १७ दशमलव ४३ प्रतिशत मात्र भयाे

आर्थिक परिवेश

१ फागुन,काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारले पूँजीगत खर्च १७ दशमलव ४३ प्रतिशत अर्थात् ६६ अर्ब २९ करोड ८४ लाख बराबर मात्रै गरेको छ ।

चालु बजेटमा सरकारले पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रकम विनियोजन गरेको थियो ।

यस ७ महिनाको अवधीमा सरकारको बजेट ३७ दशमलव २२ प्रतिशत बराबर मात्र खर्च भएको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको उल्लेख छ ।

बजेटमा ११ खर्ब ८३ अर्ब २३ करोड चालु खर्च विनियोजन भएकोमा माघ मसान्तसम्म पाँच खर्ब ३१ अर्ब ५० करोड बराबर खर्च भएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि दुई खर्ब ३० अर्ब बराबर बजेट छुट्याइएकोमा वार्षिक विनियोजनको ३० दशमलव ३४ प्रतिशत बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फको बजेट सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुन्छ ।

चालु आवको सात महिनामा सरकारी ऋणको साँवा ब्याज भुक्तानीमा भएको खर्च भन्दा पुँजीगत खर्च कम देखिएको छ ।

सात महिनाको अवधिमा सरकारको राजस्व सङ्कलन ३८ प्रतिशत बराबर भएको छ । चालु आवका लागि कूल १४ खर्ब ५८ अर्ब ६० करोड बराबर राजस्व असुली गर्ने सरकारको लक्ष्य थियो । तर माघ महिनासम्म पाँच खर्ब ५४ अर्ब २३ करोड ६१ लाख बराबर मात्रै राजस्व उठेको छ ।

मा प्रकाशित