सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहने छ भने प्रायोजकहरूमा प्रमुख विश्व बैंक, आइएफसी, एफएमओ, युएसएआइड लगायतका विकास साझेदार छन्।
इप्पानले सन् २००६ मा पहिलो पावर समिट आयोजना गरेको थियो। यसले मुलुकमा विद्युत उत्पादनको लागि अनुकुल वातावरण सिर्जना गर्न ठूलो योगदान गएको इप्पानको दाबी छ। इप्पानका अनुसार सोलुखोला (दुधकोसी) जलविद्युत आयोजनाबाट ८६ मेगावाट राष्ट्रिय ग्रीडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रसारणलाइनको जडित क्षमता २५२० मेगावाट पुगेको छ।
यो वर्ष थप करिब ६०० मेगावाट प्रणालीमा थपिने छ। सन् २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। यसरी विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ।
इप्पान अध्यक्ष कृष्ण आचार्यले अन्तर्राष्ट्रियस्तरका लगानीकर्ता, विकासकर्ता, विशेषज्ञ सबैलाइ समेटेर नेपालको जलविद्युत क्षेत्रमा के गर्न सकिन्छ भनेर २००६ देखि समिट गर्दै आएको बताउनु भयाे । समिटमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायतका सरकारी र निजी क्षेत्रका उच्चस्तरीय टोली समेत आउनेछ।
५ हजार मेगावाट क्षमताको जलविद्युत आयोजनामा १० खर्ब रुपैयाँ लगानीको प्रत्याभूति गराउने लक्ष्य छ। ‘प्राप्त सूचना अनुसार ५ हजार मेगावाट जलविद्युतका लागि लगानी प्रत्याभूति हुनेछ। त्यो भन्दा बढी पनि हुन सक्छ,’ अध्यक्ष आचार्यले भने।
सम्मेलनले नेपालको जलविद्युत विकासका लागि योगदान गर्ने अपेक्षा इप्पानको छ। विदेशी लगानीकर्ताहरु आउन चाहे पनि नेपालका केही नीति नियम सहजीकरण गरिदिनुपर्ने इप्पानका अधिकारीहरुको भनाइ छ।
समिटमा लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरु प्रदर्शन गरिनेछ। त्यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई परियोजनाहरुको बारेमा विस्तृत जानकारी हासिल गर्ने अवसर प्रदान गर्ने बताइएको छ। समिटको मुख्य लक्ष्य हरित ऊर्जाको बजार विस्तार गर्ने रहेकाे आयोजकहरूकाे भनाइ छ ।