८ फागुन,काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल किन्नका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।
रासायनिक मल किन्नका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।
स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने छ ।
२ अर्ब ६० करोड रुपैयाँको दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु बजेटमा रासायनिक किन्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
रासायनिक मल किन्नका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
रासायनिक मल किन्न र आपूर्ति व्यवस्था सहज बनाउने सम्बन्धमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गर्नु भएको थियो ।
३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिने क्रम शुरु
आगामी चैते बालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट किनेको ३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिने क्रम शुरु भएको छ ।
भारतको कोलकात्ता बन्दरगाहबाट ३ हजार मेट्रिक टन युरिया मल बोकेको पहिलो रेल्वे ¥याक आइतबार वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ ।
कृषि सामग्री कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगंजका प्रमुख चन्द्र चौलागाईले ग्लोबल टेन्डरबाट मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर ओभरसिज कम्पनीले मलेसियाबाट मल आयात गरेको जानकारी दिनुभयो ।
करिब २ साताअघि उक्त युरिया मलेसियाबाट कोलकाता बन्दरगाह आइपुगेको थियो । बन्दरगाहमा बोरामा प्याकिङ गरेर ल्याउन करिब २ साता लागेको हो ।
कुन कुन प्रदेशले कति मल पाउने
कुल ३० हजार मेट्रिक टन युरिया मलमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले १० हजार र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय मेट्रिक टन मल पाउने चौलागाईले जानकारी दिनुभयो । यसअघि नेपाल सरकारले भारत सरकारसँग जीटुजी प्रक्रियाबाट किनेको ३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिसकेको छ ।