गण्डकी प्रदेश सरकारले दुई औद्योगिक क्षेत्रकाे निमार्णका लागि प्रकृया अघि बढायाे

आर्थिक परिवेश

२३ फागुन,पोखरा ।  गण्डकी प्रदेश सरकारले प्रदेशकाे  गौरवका आयोजनाका रुपमा अघि सारिएका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ ।

जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने भएको छ ।

गण्डकी प्रदेश सरकारले पाँच वर्षअघि कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । समयमै जग्गाको टुङ्गो नलाग्दा दुवै आयोजना अन्योलमा परेका थिए ।

अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सरकारले बर्सेनि बजेट बिनियोजित गरे पनि बजेट समेत खर्च हुन सकेको थिएन ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरी जग्गा प्राप्तिको प्रस्ताव सङ्घमा पठाएको छ । सरकारी जग्गाको भोगाधिकार दिने निर्णय सङ्घ सरकारको मन्त्रिपरिषद्ले गर्नुपर्छ ।

मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले पुँडीटारमा चार हजार पाँच सय रोपनी र लोकाहा खोलामा एक सय ४१ बिघामा औद्योगिक क्षेत्र निर्माण हुने बताउनुभयो ।

पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जग्गा व्यवस्थापनले औद्योगिक क्षेत्र स्थापनामा आशा जगाएको बताउनुभयो ।
नवलपुरको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले घोषणा भएको वर्षौं बितिसक्दा पनि औद्योगिक क्षेत्र निर्माणको काम अघि नबढ्नु दुःखद् रहेको बताउनुभयो ।

प्रदेश सरकारले दुई औद्योगिक क्षेत्रसँगै २५ उद्योग ग्राम निर्माणको योजनालाई अघि बढाएको थियो । जग्गा व्यवस्थापन गर्न नसक्दा अधिकांश ठाउँमा उद्योग ग्रामको काम पनि अघि बढ्न सकेको छैन ।

मा प्रकाशित