नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रूपैया पुग्याे

आर्थिक परिवेश

२७ फागुन,काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण  २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रूपैया पुगेको छ ।

गत पुस मसान्तसम्म नेपालले  ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड रूपैया आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा   ५७ अर्ब २४ करोड रूपैया ऋण थपिएको छ ।

गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण  २० खर्ब १३ अर्ब रूपैया थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड रूपैया बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा  ७६ अर्ब ६६ करोड ९९ लाख रूपैया बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा  १९ अर्ब ४३ करोड रूपैया ले ऋण  घटेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन  ४८ खर्ब ५१ अर्ब ६२ करोड रूपैया बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु आवको पुस मसान्तसम्म नेपालले  ४७ अर्ब २७ करोड रूपैया बराबरकाे ऋण उठाएको छ । जसमध्ये  ३० अर्ब आन्तरिक र  १७ अर्ब २७ करोड रूपैया बाह्य ऋण उठाएको हो । यही अवधिमा  ४५ अर्ब ६१ करोड रूपैया बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा  २८ अर्ब ३० करोड र ब्याज १७ अर्ब ३१ करोड रूपैया बराबर छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा  १९ अर्ब ५९ करोड २५ लाख र ब्याज  १५ अर्ब ६५ करोड ९६ लाख रूपैया गरी कूल  ३५ अर्ब २५ करोड रूपैया भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा आठ अर्ब ७१ करोड र ब्याज  एक अर्ब ६५ करोड रूपैया गरी  १० अर्ब ३६ करोड रूपैया भुक्तानी भएको छ ।

कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७ दशमलव २८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२ दशमलव ७२ प्रतिशत बराबर रहेकाे सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएकाे छ ।

मा प्रकाशित