८ चैत्र,काठमाडाैं । नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको कार्यान्वन शुरू गरेकाे छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधवार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्यकाे प्रारम्भ गर्नु भयाे ।
योजनाको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री दाहालले रोजगारी कै लागि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने कुरा नै अबको जिम्मेवारी भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा कोषले शुरु गरेको दूरगामी महत्त्वको कार्यक्रममा जोडिन र सुरक्षित महसुस गर्न आग्रह गर्नुभयो ।
उहाँले आगामी वैशाखबाट शुरु हुने सबै अनौपचारिक स्वरोजगार क्षेत्रका श्रमिकहरू सम्म सामाजिक सुरक्षा योजना पुग्ने निश्चित भएकाले राज्यले दिने सामाजिक सुरक्षाको दायरा फराकिलो बन्दै गएको बताउनुभयो ।
मुख्यसचिव शङ्करदास वैरागीले गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राख्नुभयो ।
अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुआत भएको बताउनुभयो ।
उहाँले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा नागरिकले अप्ठ्यारो पर्दा कोषबाट सहयोग लिन सक्ने बताउनुभयो ।
कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताउनुभयो ।
विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उहाँको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताउनुभयो ।
योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उहाँले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताउनुभयो । सामाजिक सुरक्षा कोषमा सङ्कलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता सङ्कटको समस्या गर्न सहयोग पुग्नेमा उहाँको विश्वास छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको यस कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया, मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने बताउनुभयो ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी वैशाख १ देखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभयो ।
सो क्रममा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताउनुभयो । वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ”, उहाँले भन्नुभयो ।
गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफूले पहल गर्दै आएको पनि उहाँले सो अवसरमा उल्लेख गर्नुभयो ।
विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार कटिबद्ध रहेको उहाँको भनाइ छ । कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उहाँले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने गर्ने उद्देश्यले कार्यक्रम शुभारम्भ गरिएको हो । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।
स्वीकृत कार्यविधि बमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार रुपैयाँ मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ ।
कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।