२८ चैत्र, काठमाडाै‌।  सरकारले भारतबाट आउने तरकारी लगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम् सीमा निर्धारण गर्न मन्त्रिपरिषद्काे पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।

आयातित तथा उत्पादित खाद्य पदार्थमा विषादीको सीमा निर्धारण गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबार, बालुवाटार, शितलनिवास लगायतका स्थानको फोहोर नउठाउने भनी गरेको घोषणा नीतिगत व्यवस्था विपरीत रहेको र नीति पालनामा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनुभयो ।