राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन प्रधानमन्त्रीकाे निर्देशन

आर्थिक परिवेश

२९ चेत्र, भक्तपुर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सैनिक क्याडेट अधिकृतहरूलाई सैनिक सेवाको अन्तिम घडीसम्म सेवा कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन निर्देशन दिनुभएको छ ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिम पुरा गरेका शिक्षार्थीहरूलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, जनताको सेवामा समर्पित हुँदै नेपाली सेनाको छविलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी नव आयुक्तहरूमा थपिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरण एवं त्यसका प्रभावका पूर्वानुमानहरू र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सही आँकलन गरि जटिल चुनौतीहरूबिच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।”

प्रधानमन्त्री दाहालले देश भित्र मात्रै नभई देश बाहिर समेत नेपाली शान्ति सेनाको रुपमा विश्वका विभिन्न द्धन्द्धग्रस्त देशहरूमा शान्ति दूतमा रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई शान्ति सैनिकहरूको देशको रुपमा चिनाउन सफल भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सुरक्षा चुनौतीका साथै भविष्यमा देखा पर्न सक्ने अन्य चुनौतीको सामना गर्न नेपाली सेना सदैव सजग, सतर्क एवं तयार रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले यस तालिममा मित्र राष्ट्र बङ्गलादेश, श्रीलङ्का र जाम्बियाका एक–एक जना अधिकृत समेत यो कवाजमा सहभागी भएको र विगतमा पनि विभिन्न मित्र राष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउँदा खुसी लागेको बताउनु भयो ।

सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ जना र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीन वर्षे तालिम पुरा गरि आयुक्त पद प्राप्त गर्नु भएको छ ।

प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी तथा महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडि अवार्ड प्रदान गर्नुभयो ।

कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरूलगायतको सहभागिता रहेको थियो ।

 

मा प्रकाशित