८ वैशाख, काठमाडौं। रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणमा रुस जानु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता सम्पन्न भएको छ ।
अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनका बिचमा शुक्रबार दिउँसो भेटवार्ता सम्पन्न भएको हो ।
भेटवार्ताका क्रममा दुई देशकाबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालय बीच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएका छन् ।
अध्यक्ष तिमिल्सिनाले दुई देशको बिचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा मलखाद तथा गहुँको निर्यात गर्नका लागि रुसले देखाएको रुचि प्रति कृतज्ञता ज्ञापन पनि गर्नुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभएको थियो ।
उक्त भेटमा रुसको तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनले रुस र भारतका बिचमा छैठौ ठुलो ब्यापार भइरहेको बताउँदै त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने सुझाव दिनुभयो । संसदीय अनुभव आदानप्रदानका लागि यस्ता भ्रमणहरूलाई निरन्तरता दिँदै जाने र भविष्यमा निम्तो पाएमा नेपालमा पनि रुसी प्रतिनिधि मण्डल आउन इच्छुक रहेको बताउनुभएको थियो ।
यसैगरी अध्यक्ष तिमिल्सिनाले आजै रुसका विभिन्न राजनैतिक दलका नेतृत्व सँग पनि भेटघाट गर्ने कार्यक्रम छ भने मस्को स्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानका विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै रुसमा रहेका गैह्र आवासीय नेपालीहरूको कार्यक्रम समेत सहभागी हुनुहुनेछ ।
मा प्रकाशित