९वैशाख,काठमाडौ । बेलायती व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेकोले नेपालमा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ ।
लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्न खोजीरहेकाले ब्रिटिस कम्पनीलाई नेपाली कम्पनीसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पछिल्लो एक दशकभित्र सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउँदै कानुनी तथा भौतिक पूर्वाधार विकासका लागि नेपाल सरकारले काम गरिरहेको बताउनुभयो ।
नेपालमा लगानी प्रवद्र्धन गरिरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा काम गर्दा आफूहरूले सरकार र निजी क्षेत्रबाट पर्याप्त सहयोग पाएको बताउनुभयो ।
उहाँले नेपाली युवा दक्ष, मेहनती र मिलनसार रहेको भन्दै आफ्नो कम्पनीले जलविद्युत् र स्वास्थ्य क्षेत्रपछि अहिले सूचना प्रविधिमा पनि लगानी गर्न लागेको बताउनुभयो ।
ब्रिटिस कम्पनी, एमबीआइ एमबीओ लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी ब्रायन डफीले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउँदै नेपालीको इमान्दारिता र मेहनत गर्ने प्रवृत्तिबाट आफू प्रभावित भएको बताउनुभयो ।
बेलायतमा मुख्यालय भएको कम्पनी जेनिस सलुसनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले नेपालका विश्वविद्यालय तथा कलेजबाट बर्सेनि झन्डै ७० हजार युवाले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बद्ध विषयमा स्नातक गरिरहेको बताउनुभयो ।
उहाँले नेपालीले नेपालमै बसेर विश्वका प्रमुख कम्पनीका लागि काम गरिरहेको बताउँदै नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्न नेपाल सरकारले नीतिगत तथा कार्यक्रम ल्याएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
मा प्रकाशित