२६ जेठ, काठमाडाैं । चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५१ दशमलव चार प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा तीन दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक सय ८५ दशमलब पाँच प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव तीन प्रतिशतले बढेको थियो ।
चालु आबको वैशाखसम्मको तथ्यांक
सरकारको सञ्चित कोष : ४५ अर्ब ३८ करोड ऋणात्मक
संघीय सरकारको सञ्चित कोष : ८८ अर्ब ३५ करोड ऋणात्मक
प्रदेश सरकारको सञ्चित कोष : ३३ अर्ब ८ करोड बचत
स्थानीय तहको सञ्चित कोष : १० अर्ब ३१ करोड बचत
आर्थिक वर्ष २०७८/७९ सम्मको सरकारी कोष बचत : २ खर्ब २५ अर्ब ८० करोड
२०८० वैशाखमा सरकारी कोष बचत : १ खर्ब ८० अर्ब ४२ करोड
चालु आर्थिक वर्षमा सरकारको स्रोतको संशोधित अनुमान र वैशाखसम्मको प्रगति
राजस्व
संशोधित अनुमान : ११ खर्ब ७९ अर्ब ८४ करोड
वैशाखसम्मको अवस्था : ७ खर्ब ५६ अर्ब २५ करोड
वैदेशिक अनुदान
संशोधित अनुमान : ३८ अर्ब ४६ करोड
वैशाखसम्मको अवस्था : ७ अर्ब २२ करोड
वैदेशिक ऋण
संशोधित अनुमान :१ खर्ब ७० अर्ब ५४ करोड
वैशाखसम्मको अवस्था : ६४ अर्ब ९१ करोड
आन्तरिक ऋण
संशोधित अनुमान : २ खर्ब ५६ अर्ब
वैशाखसम्मको अवस्था : १ खर्ब ७९ अर्ब ७० करोड
स्राेत : नेपाल राष्ट्र बैक