२७ साउन, काठमाडाैं । गैर आवासीय नेपाली संघको तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते अर्थात २०२३ अक्टोबर १७ र १८ तारिखमा काठमाडाैमा आयोजना हुने भएको छ ।
ज्ञान सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने र २ सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल हुने कार्यक्रम रहेकाे छ ।
भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका संयोजक सह प्राध्यापक राजु अधिकारीले जानकारीले सम्मेलन अायाेजना गर्न लागेकाे र त्यसका लागि आवश्यक सबै तयारी पुरा हुने क्रममा रहेको जानकारी दिनुभयो ।
‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको यो सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा छलपफल हुने भएकाे छ ।
सम्मेलनमा गैर आवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
कार्यपत्रहरू विशेषगरी दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिमव्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि रहनेछन् ।
त्यस्तै जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिने कार्यक्रम गैर आवासीय नेपाली संघले जनाएकाे छ।
सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरूलाई समेत सम्बोधन गर्ने अपेक्षा राखेका छौँ ।
सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षाविज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धानलगायतका विषयमा पनि जोड दिनेछ ।
सम्मेलनमार्फत नेपालमा रहेका तथा गैरआवासीय नेपाली विशेषज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरु निकट सम्पर्क, सहकार्य, ज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान गरिनेछ ।
सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको छ । सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५ २०८०) देखि कार्यपत्र आवहान गरिएको छ ।
साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३( श्रावण ३० २०८०) बाट दर्ता सुरु गरिने र त्यसका लागि (www.knowledge.nrna.org) बाट प्राप्त गर्न सकिने गैर आवासीय नेपाली संघले जनाएकाे छ ।
मा प्रकाशित