अमेरिकन च्याम्बर अफ कमर्स नेपालले अमेरिका स्थित यु.एस. च्याम्बर अफ कमर्सको सदस्यता पायाे

आर्थिक परिवेश

१७ कार्तिक,काठमाडौं ।  अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित यु.एस.  च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ ।

नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा  यु.एस.  च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप र  यु‍‍.एस.  च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएकाे हाे ।

एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यु‍.एस. च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल हुनु ऐतिहासिक उपलब्धी भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताउनुभयाे ।

एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न सक्ने अवस्था बनेको शाहले बताउनुभयाे ।

नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि यो उपलब्धि कोसेढुङ्गा सावित हुने अध्यक्ष शाहको भनाइ छ ।

अध्यक्ष शाहले एमच्याम नेपालले सन् २०२४ मा नेपालमा युएस नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गर्नुभयाे ।

इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरूको सहभागिता हुने उहाँले बताउनुभयाे ।

अमेरिकी लगानीमा अहिले नेपालमा ऊर्जा, सूचना प्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा लगानी हुँदै आएको छ ।

एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन्, जहाँ १५ हजारभन्दा बढीले प्रत्यक्ष र लाख बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

विश्वभर १३० मुलुकमा  यु‍‍.एस. च्याम्बर अफ कमर्सका च्याप्टर (एमच्याम) हरू रहेका छन् जहाँ ३० लाख बढी व्यावसायिक संस्था आबद्ध छन् ।

मा प्रकाशित