राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप

आर्थिक परिवेश

मंसिर ११ ,मणिग्राम  ।  रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप गरिएको छ ।

मेलामा अहिलेसम्म नौ करोड बढीको आर्थिक कारोबार भएको आयोजकको दाबी छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म २ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिनुभयो ।

‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ दिन थप गरिएको आयोजकले जनाएको छ ।

दीपावलीलगायतका कारणले दर्शक र व्यवसायीको मागअनुसार १७ गते आइतबारसम्म मेला सञ्चालन हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो  ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवम् औद्योगिक मेशिनरीको प्रदर्शनी एवम् बिक्रीका लागि राखिएको छ ।

कृषिमा हुँदैगएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजीका लागि महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटीलगायत विभिन्न प्रकृतिका २५४ स्टल रहेका छन् ।

स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न निःशुल्क स्टलको व्यवस्था रहेको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

मेलाको अवलोकनका लागि ८० रुपियाँ टिकट शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको महासचिव राजकुमार पाण्डेयले बताउनुभयो ।

बिक्री भएको टिकटको ५ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि छुट्याइने उद्योग उपाध्यक्ष सुरज पङ्गेनीको भनाइ छ ।

सो मेलाको मङ्सिर १ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

मा प्रकाशित