०५ पुष, विराटनगर ।  मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घले आयोजना गर्न  लागेको ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ ।

मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा भोली (शुक्रवार)देखि सञ्चालन हुने एक्स्पोले मोरङ –सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई थप बढवा दिन  सहयोग पुग्ने जनाइएको छ ।

यस क्षेत्रको कृषि, पर्यटन, ठुला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने एक्स्पोमा २४० स्टल रहने मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले बताउनुभयो ।

अध्यक्ष रिजालले एक्स्पोमा स्वदेशी ठुला, मझौला साथै  भारत, बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तुहरू एव उत्पादनकर्ताहरूको सहभागिता रहने बताउनुभयो ।

सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलब्ध गराउने अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

एक्स्पोले अन्तर प्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रिय÷ अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरुबीच व्यावसायिक सम्बन्ध र सहकार्य स्थापना, पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार लगायतका कार्यको प्रवर्द्धन गरिने छ ।

सङ्घका पूर्व अध्यक्ष महेश जाजुले प्रदेशको उद्योग व्यापारीका समस्या समाधान, प्रदर्शनी स्थल निर्माण र कार्गो रेल सेवा सुचारु रूपमा सञ्चालनमा एक्स्पोबाट सहयोग पुग्ने बताउनुभयो ।

एक्स्पो सञ्चालनमा चार करोड ५० खर्च लाग्ने छ भने १० करोडको व्यापारिक कारोबार हुने विश्वास गरिएको एक्सपोका संयोजक  अनिल साहले जानकारी दिनुभयो ।

नेपाल र भारतका गरी चार लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने विश्वास गरिएको छ । मोरङ व्यापार सङ्घले विस २०५३ सालदेखि एक्स्पोको  आयोजना गर्दै आइरहेको छ ।

एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भोलि (शुक्रवार) मध्यान्ह २ः३० बजे उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।