०५ माघ, काठमाडौँ । स्वदेशी मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिनु भएकाे छ ।
दोस्रो राष्ट्रिय कृषि जैविक दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीकाे उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मुलुककाे आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयाे ।
मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिंदै त्यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने बताउनु भयाे ।
कृषि मन्त्री डा. भुसालले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको पनि जानकारी दिनुभएको छ ।
मुलुकका विभिन्न जातिका रैथाने बालीको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
मौसम अनुकूल बीउको सञ्चितीकरण र त्यसको जगेर्ना गर्नुपर्ने बताउँदै उहाँले कृषि अनुसन्धान तथा कृषि विज्ञानका क्षेत्रमा प्राप्त भएका उपलब्धिको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा परम्परागत प्रविधिका ओखल, ठेकी, मदानी, जाँतो, फलफूल, खाद्य सामग्री, सामुदायिक उत्पादनका बीउ बैङ्क, राउटेले निर्माण गरेका आरी, लोपोन्मुख खाद्यान्नसमेत राखिएको छ ।
मा प्रकाशित