०१ असार, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न सम्झौता गरेको छ ।
भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सबस्टेसन निर्माण गर्न सम्झौता गरेको एमसिए नेपालले जनाएको छ ।
सम्झौता संगै ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर सवस्टेसन ३९ महिनाभित्र निर्माण गरिने छ ।
पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो ।
एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सवस्टेसनमध्ये एमसिए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो ।
कर्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालको प्रसारण प्रणाली विकास योजना (टिएसडिपीएन) अनुसारको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने बताउनु भयो ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सम्झौतासंगै दमौलीमा निर्माण गरिने तेस्रो सवस्टेसनको सम्झौता पनि चाँडै हुन लागेको बताउनु भयो ।
चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता हुनेछ ।
नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन उक्त सबस्टेसनले विभिन्न भोल्टेजस्तरमा भरपर्दो बिजुली वितरण गर्नेछ ।
मा प्रकाशित