०८ असार, काठमाडाैं । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठक विभिन्न निर्णयहरू गर्दै पहिलाे पटक काठमाडाैमा सम्पन्न भएकाे छ ।
चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ अर्थमन्त्री बर्षमान पुनले समापन गर्नु भएकाे छ । बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नु भएकाे थियाे ।
समापन समाराेहमा अर्थमन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरु सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताउनु भयाे ।
दशकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरुका लागि बैठक उपलब्धीमुलक भएको उल्लेख गर्नु भयाे ।
बैठकले संसारभरबाट गरिबी र अविकाश अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा धन्यवाद दिनु भयाे ।
‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरुका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौँ भेलाको सामूहिक निर्णयका लागि आभार
व्यक्त गर्दछु’, अर्थमन्त्रीले भन्नु भयाे ।
‘तपाईंहरुले अविकसित मुलुकहरुका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ ।’
बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरु विकास सझेदारहरुबाट विकास वित्त प्राप्त गर्दै आएका आईडीए मुलुकहरु र ऋण दाता मुलुकहरुका लागि खुसीको विषय भएको मन्त्री पुनले बताउनु भयाे ।
आईडीए मुलुकहरुलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्न लायक बनाउन बैठकले निकालेका निस्कर्ष प्रभावकारी हुने विश्वास उहाँको थियो ।
उहाँले धेरै आईडीए मुलुकहरुले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, श्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औंल्याउनु भयाे ।
उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए । ‘यी चुनौतीहरुका कारण विकास सहायता र अन्तर्राष्ट्रिय सहयोगको निरन्तरताको प्रतिबद्धता माग गर्दछ’, उहाँकाे भनाइ थियाे ।
उहाँले आईडीए मुलुकका जनताका लागि विद्युत पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिनुपर्ने उल्लेख समेत गर्नु भयाे ।
मन्त्री पुनले जलवायु परिवर्तन, लैङ्गिक असमानता, गरिबी अन्त्यजस्ता एजेण्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी रहेको पनि औंल्याउनु भयाे ।
मा प्रकाशित