१८ असार, काठमाडाैं । चालु आर्थिक वर्षको ११ महिनाकाे अवधीमा नेपालमा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो ।
ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
११ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा २८४ वटा उद्योग दर्ता भएका छन् ।
त्यस्तै ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । यस्तै ८० वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् ।
यस्तै ११ महिनामा ३५९ परियोजनामार्फत ४४ अर्ब ३४ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।
प्रस्तावित विदेशी लगानीबाट सञ्चालित परियोजनाबाट १७ हजार ६४२ जनालाई रोजगारी पाउने अनुमान गरिएको छ ।
चालु आवको ११ महिनामा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजन्यमा तीन र ऊर्जामा एक आएको छ ।
११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो ।
यस्तै ११ महिनामा दुई वटा प्याटेन्ट दर्ता भएका छन् । ११ वटा डिजाइन दर्ता भएका छन् । ११ महिनामा सबैभन्दा धेरै पाँच हजार ४९४ वटा ट्रेडमार्क दर्ता भएका छन् ।
जेठ महिनामा मात्र ४२३ वटा ट्रेडमार्क दर्ता भएका छन् । ८९ वटा ट्रेडमार्क सम्बन्धी मुद्दा कारबाहीमा परेको विभागको तथ्याङ्क छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
स्वचालित मार्गबाट ११ अर्ब वैदेशिक लगानी
यसै बीच स्वचालित मार्गबाट ११ अर्ब १८ करोड वैदेशिक लगानी भित्रिएको छ । डेढ महिनाको अवधिमा स्वचालित मार्गबाट सो रकम भित्रिएको विभागले जनाएको छ ।
गत वैशाखमा भएको लगानी सम्मेलनमार्फत स्वचालित मार्गबाट लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा आएको थियो ।
स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म वैदेशिक लगानी गर्न पाउने व्यवस्था रहेको छ ।
२०८० असोज १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ५० करोड रुपियाँसम्म कुल पुँजी भएका विदेशी लगानीका परियोजना अब अनलाइनबाट स्वीकृत गर्ने निर्णय भएको थियो ।
सोही अनुसार स्वचालित मार्गबाट लगानी भित्र्याउने कार्यक्रम गत वैशाख महिनादेखि कार्यान्वयनमा आएको थियो ।
मा प्रकाशित