मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन उद्योग मन्त्रालयले शुरु गर्याे छलफल

आर्थिक परिवेश

०६ साउन, काठमाडौं ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयको समग्र सुधारका लागि कार्ययोजना बनाउन सुझाव सङ्कलन गर्ने गरी १० दिने छलफल  शुरु गरेको छ ।

मन्त्रालयमा नै सञ्चालन हुने १० दिने छलफलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रलयलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रबाट उपयुक्त सुझावको अपेक्षा गरिएको बताउनु भयो ।

मन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौतीलाई सामना गर्ने गरी सुझाव संकलन शुरु गरिएको बताउनु भयो ।

उहाँले विभिन्न पक्षको सूझाव अनुसार कार्ययोजना निर्माण गरेर सोही बमोजिम सुधारका कार्य अघि बढाउने बताउनुभयो ।

साउन १५ गतेसम्म सञ्चालन हुने अन्तरक्रियामा निजी क्षेत्रका छाता सङ्गठन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, पेसागत सङ्गठनका प्रतिनिधि, सम्बन्धित वस्तुगत महासङ्घ, प्रत्यक्ष बिक्री सम्बद्ध प्रतिनिधि सहभागी रहनेछन् ।

अन्तरक्रियामा संसदीय समिति,प्रमुख राजनीतिक दलका सम्बद्ध पदाधिकारी, राजनीतिक दलका उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्र सम्बद्ध पदाधिकारी, प्रदेशका मुख्यमन्त्री एवं उद्योग तथा वाणिज्यमन्त्री,नगरपालिका र गाउँपालिका सङ्घ, पूर्वमन्त्री,पूर्वसचिव तथा विषय विज्ञको सहभागिता रहने छ ।

छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले लगानीकर्तालाई बहुवर्षीय भिसा दिनुपर्ने, लगानीकर्तासँग समन्वय गर्ने संयन्त्र निर्माण गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने बताउनु भयाे  ।

उहाँले  सय जनालाई रोजगारी दिने रोजगारदातालाई प्रोत्साहन गर्नुपर्ने, स्थानीय उत्पादन प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने, ‘स्टार्ट अप’लाई निरन्तरता दिनुपर्ने, हरेक प्रदेशमा ‘इन्क्युबेसन’ केन्द्र स्थापना र आयात प्रतिस्थापन गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घलगायत अन्यनिकायका प्रतिनिधिहरुले उद्यमीहरूलाई सीप विकासका लागि तालिम दिनुपर्ने, औद्योगिक नीतिमा समयसापेक्ष परिमार्जन गर्नुपर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्नुपर्ने जस्ता सुझाव दिनु भएको थियो ।

मा प्रकाशित