सरकारले शुरू गरयाे चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर ७४ स्थानमा

आर्थिक परिवेश

०३ असाेज,काठमाडौँ    सरकारले  विजयादशमी,  नेपाल संवत्,  शुभ दीपावली र छठलगायतका चाड पर्वका अवसरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरू गरेकाे छ ।

देशका विभिन्न भागमा संचालन हुने सुपथ मुल्य पसलकाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको काठमाडाैकाे थापाथलीस्थित प्राङ्गणमा सुपथ मूल्य पसल उद्घाटन गरेर शुभारम्भ गर्नु भयाे  ।

सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनु भयाे ।

उहाँले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताउनुभयो ।

चाडपर्वका अवसरमा बिहिवारदेखि देशका ७४ स्थानमा सहुलियत पसल सुरु गरिएको मन्त्री भण्डारीले कार्यक्रममा जानकारी गराउनुभयो । सरकारले संविधान दिवसकै अवसर पारेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

मन्त्री भण्डारीले भन्नुभयो, “खाद्यवस्तुमा कृत्रिम अभाव, कार्टेलिङ सुन्नु नपरोस्, सात सय ५३ वटै स्थानीय तहमा कम्पनीको सशक्त उपस्थिति हुनुपर्छ, यसका लागि कार्यक्रम प्रस्ताव गर्नुस्, प्रस्तावअनुसार काम गर्न वित्तीय संस्थामा थुप्रिएको पैसा ऋण लिन सकिन्छ ।”

नेपालीले तीन छाक खान पाउनेगरी खाद्य सम्प्रभुता सुनिश्चित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले सहुलियत पसलमा दैनिक जीवनमा आइपर्ने खाद्यान्न व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उपभोक्ता अधिकारकर्मीद्वय ज्योति बानियाँ र माधव तिमल्सिनालगायतले बजारमा मूल्य, गुणस्तर र नापतौलमा समस्या देखिने गरेकाले कम्पनीले चलाएको सुपथ मूल्य पसलमा यस्तो समस्या नहुने भएकाले यसलाई सबै स्थानीय तहमा बिस्तार गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

सुपथ मूल्य पसल बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म नै खोलिनुपर्नेमा पनि उपभोक्ता अधिकारकर्मीको जोड थियो ।

कार्यक्रममा विश्व खाद्य कार्यक्रमको सहयोगमा चामलमा पौष्टिक तत्त्व स्तरोन्नति गर्ने यन्त्र स्थापना गरिएको थियो । यन्त्रको पनि मन्त्री भण्डारीले आजैदेखि शुभारम्भ गर्नुभएको थियो ।

बर्दियाको राजापुर, धनुषाको जनकपुर र सुर्खेतमा स्थापना गरिएको कम्पनीले जनाएको छ । यस्तो यन्त्रलाई देशव्यापी गर्ने लक्ष्य राखिएको कम्पनीका गुणस्तर एकाइ प्रमुख विशेष कट्टेलले राससलाई जानकारी दिनुभयो ।

काठमाडाैमा सुपथ  मुल्य पसल कहाँ कहाँ 

काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्याइने कम्पनीले जनाएको छ ।

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो रु पाँच, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो रु सात छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो रु १० छुट दिइने कम्पनीले जनाएको छ ।

पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुपथ पसल सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट व्यवस्थापन गरेको छ ।

मा प्रकाशित