०५ असाेज न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुग्नु भएको छ ।
प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ ।
महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ । प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नुहुने छ ।
यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नुहुनेछ ।
यसैगरी उहाँले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्य: सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आज राष्ट्र संघका महासचिव एन्टोनो गुटेरससँग भेटवार्ता गर्नुहुने छ ।
प्रधानमन्त्री ओलीले आजै ग्लासहाउस फर पार्लिआमेन्ट फोरममा फोसिल फ्युल सम्बन्धि कार्यक्रममा मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको सम्मानमा आज संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिले स्वागत समारोहको आयोजना गर्नुहुनेछ ।
मा प्रकाशित