१४ कार्तिक, काठमाडाैं । असाेजकाे दाेस्राे साताकाे बाढी तथा पहिरकाे कारण अवरूद्ध रसुवागढी–केरुङ तथा सिन्धुपाल्चाेककाे ताताेपानी नाका सञ्चालनमा आएसँगै अायात निर्यात शुरू भएकाे छ ।
हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।
मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।
राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिनुभयो ।
तातोपानी नाकाबाट आइतबारदेखि नै सामान नेपाल भित्रिएको छ । रसुवागढी नाकाबाट भने मंगलबारबाट मात्र सामान भित्रिएको भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिनु भयाे । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार ११ असोजदेखि रसुवागढी–केरुङ सडक बन्द थियो ।
कार्यालयका अनुसार मंगलबारदेखि अधिकतम १३ टनसम्मका साना तथा ठूला गाडीहरूको आवतजावत गर्न मिल्ने गरी सडक सुचारु भएको छ ।
मा प्रकाशित