सरकारले तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो बाँढ्ने

आर्थिक परिवेश

 ०२ म‌‌सिर काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिरहेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण शुरु गरेको छ ।

केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण शुरु गरेको हो ।

विद्युतीय चुल्हो वितरण कार्यक्रमको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा मन्त्री खड्काले यस अभियानले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विद्युतीय चुल्हो वितरणले दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई सहुलियत प्रदान गर्नाका साथै खनिज इन्धनको प्रयोग न्यूनीकरण गरी विद्युत्को आन्तरिक खपत वृद्धि गर्नमा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

“खाना पकाउने स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुग्नाका साथै नेपाल सरकारको राष्ट्रिय लक्ष्य एवम् जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिएको अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सघाउ पुग्नेछ”, मन्त्री खड्काले भन्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन उहाँले केन्द्रलाई निर्देशन दिनुभयो ।

ऊर्जा मन्त्री खड्काले नेपालले ऊर्जा क्षेत्रमा निरन्तर रुपमा महत्वपूर्ण फड्को मारिरहेको र हाल अन्तर्राष्ट्रिय बजारमा समेत विद्युत् निर्यात गर्न सफल भएको भन्नुहुँदै आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा केन्द्रले हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुहुँदै ऊर्जा सम्मिश्रण र ऊर्जा खपत वृद्धिका लागि विद्युतीय चुलोको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।

उहाँले यसअघि पनि विभिन्न चरणमा विद्यार्थीहरूका लागि विद्युतीय चुल्हो वितरण गरिएकामा खुसी व्यक्त गर्नुहुँदै ऊर्जा खपत वृद्धिमा यस्ता अभियानले सघाउ पुग्ने बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुल्हो प्रवर्द्धनको माध्यमबाट केन्द्रले नेपाल सरकारले लिएका नवीकरणीय ऊर्जा तथा जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलनसम्बन्धी दीर्घकालीन लक्ष्य हासिल गर्न योगदान पुर्‍याइरहेको बताउनुभयो ।

उहाँले केन्द्रले विद्यार्थीहरूलाई विद्युतीय चुल्हो वितरणका माध्यमबाट विद्युतीय चुलो एवम् खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई देशव्यापी रूपमा विस्तार गर्न लागेको बताउनुभयो ।

कार्यकारी निर्देशक ढकालले सरकारले दोस्रो राष्ट्रिय निर्धारित योगदानमा ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरण गर्न सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्य लिएकाे छ ।

सो लक्ष्य हासिल गर्नमा विद्युतीय चुल्होलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्न केन्द्र निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

केन्द्रले हालसम्म विभिन्न नवीकरणीय ऊर्जा प्रविधिको अतिरिक्त ६० हजारभन्दा बढी सङ्ख्यामा विद्युतीय चुलो प्रवर्द्धन गरिसकेको छ ।

आगामी दिनमा विद्युतीय चुलो प्रवर्द्धन क्रियाकलापलाई बढाउँदै लैजाने लक्ष्य लिएको छ । आइतवारदेखि सुरु भएको अभियान आगामी १० दिनसम्म चल्ने केन्द्रले जनाएको छ ।

मा प्रकाशित